रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुनेछन्ः रवि लामिछाने

User Image Prime TV News ६ दिन अगाडि
Image of रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी भ्रष्टाचारीहरू हुनेछन्ः रवि लामिछाने

गोरखा । रास्वपा सभापति रवि लामिछानेले पार्टी नेतृत्वको सरकार बनेपछि देशमा सुशासनको नयाँ आधार तयार पार्ने प्रतिवद्धता जनाएका छन्। गोरखामा आयोजित चुनावी सभामा उनले मतदातालाई आगामी फागुन २१ गतेको मतदानमा सहभागी भई देशको भविष्य निर्धारण गर्न आह्वान गरे।

लामिछानेले भने, “भोट बाँडियो भने सिट बाँडिन्छ, सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।”

उहाँले धर्म, जात, समुदाय र सम्प्रदायको नाममा राजनीति गर्ने प्रवृत्तिबाट सचेत रहन मतदातालाई आग्रह गर्दै भने, “मेरो धर्म एउटै हो, म धर्मका नाममा राजनीति गर्दिनँ। धर्मको नाममा भोट बैंक बनाउनेलाई हामीले फल्न दिनुहुँदैन।”

सभापतिले गोरखा–१ बाट सुधन गुरुङ र गोरखा–२ बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर संसदमा पठाउन मतदातालाई आग्रह गरे। लामिछानेले सुधन गुरुङको जीतलाई भ्रष्टाचारीहरूको लागि चुनौतीको रुपमा प्रस्तुत गर्दै भने, “सुधन गुरुङ सदन जाला भनेर उनीहरूको अहिलेदेखि नै जिउ कामेको छ। तर हामी यसपटक उनलाई सदन लिएरै जान्छौँ।”

यस क्रममा लामिछानेले मतदातालाई भोट खसालेर मात्र होइन, देशको इतिहास लेख्ने अवसरको रूपमा मतदानमा सहभागी हुन आह्वान गरेका छन्।