कास्की–१ बाट रास्वपा नेता राजु राईले पार्टी छोडे

User Image Prime TV News ६ दिन अगाडि
Image of कास्की–१ बाट रास्वपा नेता राजु राईले पार्टी छोडे

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजु राईले पार्टी छोडेको घोषणा गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु हो।”

राई अघिल्लोपटक कास्की–१ बाट प्रतिनिधिसभाको उम्मेदवार थिए र १० हजार ९४१ मत पाएर तेश्रो स्थानमा रहे। यसपटक पनि टिकटका आकांक्षी बनेका राईलाई टिकट बालेन साह निकटका खडकराज पौडेलले पाएपछि उनी असन्तुष्ट बनेका थिए । 

राईले पार्टीमा नातावाद र कृपावाद हावी भएको आरोप लगाउँदै भने, “हिजो टिकट किन्नुपर्दैन, नेता चिन्नुपर्दैन भनिन्थ्यो। अहिले नेता चिन्नुपर्ने भयो। पार्टी नै हाइज्याक भयो। प्राइमरी इलेक्सन हुँदैन, उपयुक्त जान्ने व्यक्ति चयन हुँदैन। मिडियामा देखिएका पात्र मात्रै देखिए।”

उनी आगामी निर्वाचनमा स्वतन्त्र नागरिकको रूपमा समाजसेवामा ध्यान केन्द्रित गर्ने पनि बताएका छन्। राईले थपे, “राजनीति र पार्टीको लागि १ कौडी पैसा र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन। स्वतन्त्र भएर काम गर्नेछु।”

उनको निर्णयले रास्वपामा टिकट वितरण र पार्टी सञ्चालन प्रक्रियामा उठिरहेका विवादहरूलाई पुनः सार्वजनिक ध्यानमा ल्याएको छ।