मेक्सिकोमा भएको हिंसा भड्किए पनि विश्वकप हुनेमा फिफाको विश्वास

User Image Prime TV News ६ दिन अगाडि
Image of मेक्सिकोमा भएको हिंसा भड्किए पनि  विश्वकप हुनेमा फिफाको विश्वास

काठमाडौ । मेक्सिकोमा लागुऔषध गिरोहका नेता एल मेन्चोको मृत्युपछि फैलिएको हिंसाले सुरक्षा अवस्थाबारे विश्वव्यापी चासो बढिरहेका बेला, फिफा अध्यक्ष जियानी इन्फ्यान्टिनोले आगामी सन् २०२६ को विश्वकपमा कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छन्।

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। मेक्सिको सिटीमा हुने उद्घाटन खेलसहित मेक्सिकोमा कुल १३ खेल आयोजना हुने छन्। तर एल मेन्चोको मृत्युपछि मेक्सिकोका २० भन्दा बढी राज्यमा हिंसा भड्किएको छ।

इन्फ्यान्टिनोले पत्रकार सम्मेलनमा भने, “मेक्सिको महान् देश हो। यहाँ पनि अन्य देश जस्तै घटना हुन सक्छन्। हामी चन्द्रमामा बस्दैनौँ। म सरकार, प्रहरी र सम्बन्धित निकायले सुरक्षा र व्यवस्था सुनिश्चित गर्नेमा पूर्ण विश्वास गर्छु।”

उनले फिफाले मेक्सिकोको सुरक्षा अवस्था निरन्तर निगरानी गरिरहेको र विश्वकपका खेल सुरक्षित र सहज रूपमा सञ्चालन हुनेमा आशावादी रहेको स्पष्ट पारे। विश्वकप सुरु हुन साढे तीन महिना मात्र बाँकी रहँदा पनि फिफाले मेक्सिकोको सहआयोजक क्षमता र तयारीमा भरोसा व्यक्त गरेको छ।