एमाले महासचिव शंकर पोखरेलद्वारा दाङ २ का लागि ‘५ वर्षमा ५ क्रान्ति’ संकल्प पत्र सार्वजनिक

User Image Prime TV News ६ दिन अगाडि
Image of एमाले महासचिव शंकर पोखरेलद्वारा दाङ २ का लागि ‘५ वर्षमा ५ क्रान्ति’ संकल्प पत्र सार्वजनिक

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आज आफ्नो निर्वाचन क्षेत्र दाङ २ का लागि ‘५ वर्षमा ५ क्रान्ति’ भन्ने नारासहित संकल्प पत्र सार्वजनिक गरेका छन्।

पोखरेलले संकल्प पत्रमा ‘सबै दाङ, समृद्ध नेपाल’ भन्ने नारासहित आर्थिक तथा पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा, प्रविधि र सुशासनलाई मुख्य प्राथमिकता बनाएका छन्। उनले मतदातासामु यी प्रतिबद्धतासहित उभिनु भएको छ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री रहेका पोखरेलले चुनावी अभियानलाई ‘पहिला होइन, प्रतिबद्धता पूरा गर्न’ भन्ने नारासँग जोडेका छन्। उनले दाङको विकास अधुरो छैन, तर अपूरा योजना पूरा गर्न निरन्तरता  दिन आवश्यक भएको बताए ।

सार्वजनिक संकल्प पत्रअनुसार, उनले घोराही–तुलसीपुर–लमही चार लेन सडक, औद्योगिक क्षेत्र स्थापना, ग्वारखोला हाईड्याम र माडी डाइभर्सन जस्ता दीर्घकालीन योजना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस तथा एमडी कार्यक्रम विस्तारलाई आफ्नो उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्।

आगामी पाँच वर्षको योजना कृषि, उद्योग र रोजगारीमा केन्द्रित रहेको छ। पोखरेलले ‘दाङ ग्रोथ ट्रायङ्गल’लाई औद्योगिक क्लस्टरको रूपमा विकास गर्ने, २० हजार युवालाई रोजगारी सिर्जना गर्ने, किसानको आय तीन गुणा वृद्धि गर्ने, ‘दाङ फुड पार्क’ स्थापना गर्ने र खाद्यान्न, दूध, माछा–मासु, फलफूल तथा तरकारी निर्यात केन्द्र बनाउने योजनासमेत अघि सारेका छन्।

शिक्षा र स्वास्थ्यमा पनि महत्वाकांक्षी लक्ष्य राखिएको छ। प्रत्येक वर्ष दुई हजार विदेशी विद्यार्थी भित्र्याउने, ‘वन चाइल्ड–वन ल्यापटप’ अभियानमार्फत डिजिटल शिक्षा विस्तार, ४०० शैयाको मल्टिस्पेसियालिटी अस्पताल, टेलिमेडिसिन सेवा, गरिब परिवारलाई निःशुल्क उपचार र स्वास्थ्य बीमाको दायरा विस्तार जस्ता योजना संकल्प पत्रमा समेटिएका छन्।

सुशासन र पारदर्शितामा जोड दिँदै पोखरेलले दाङलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने, ३० दिनभित्र छानबिन प्रक्रिया सम्पन्न गर्ने, ई–टेनडरिङ अनिवार्य गर्ने र स्मार्ट गभर्नेन्स कमाण्ड सेन्टर स्थापना गर्ने प्रतिबद्धता पनि सार्वजनिक गरेका छन्।

पोखरेलले भने, “हामीले जे भन्यौँ, पूरा गर्‍यौँ। राजधानी स्थापना, पूर्वाधार विस्तार, स्वास्थ्य–शिक्षा संरचना निर्माण र प्रदेश संरचना कार्यान्वयन निरन्तरता नै हाम्रो आधार हो।” समर्थकहरूका अनुसार बलियो राष्ट्रिय नेतृत्व पाउँदा संघीय र प्रदेशस्तरका ठूला आयोजना सहज रूपमा अघि बढ्छन्, भने आलोचकहरू कार्यान्वयन र वाचा बीच अझै दूरी रहेको तर्क गर्छन्।