कांग्रेस सभापति गगन थापाको आह्वान: 'पाँच वर्ष परिवर्तनको वर्ष बनाऔ, नयाँको भुलभुलैयामा पर्नुहुँदैन'
Prime TV News ६ दिन अगाडि 
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीवासीसँग आगामी पाँच वर्षसम्म “अर्को प्रयोग” नगर्न आग्रह गरेका छन्। बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कर्णालीको विकासका लागि स्पष्ट योजना र दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
सभापति थापाले कर्णालीको विकास सम्भावनाको चर्चा गर्दै यहाँका प्राकृतिक स्रोत र पर्यटकीय आकर्षणलाई उदाहरणका रूपमा प्रस्तुत गरे। रारा ताल, स्याउ उत्पादन र यार्सागुम्बाजस्ता स्रोतले कर्णालीलाई समृद्ध बनाउन सक्ने उनको भनाइ थियो। “कर्णाली स्वर्ग हो भन्न सकिन्छ, अन्नको भण्डार हो भन्न सकिन्छ, तर यी सबै सम्भावनासँगै यहाँको गरिबीको प्रश्न जोडिएर आउँछ,” उनले भने।
उनका अनुसार देशभर गरिबी दर १७–१८ प्रतिशतमा सीमित भइरहँदा कर्णालीमा भने करिब ४० प्रतिशत गरिबी कायम रहनु चिन्ताजनक विषय हो। उच्च बेरोजगारी, मातृ स्वास्थ्यका चुनौती र आधारभूत सेवामा पहुँचको कमीले प्रदेश पछाडि परेको उनले उल्लेख गरे। समस्याको जरोमै पुगेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा उनले जोड दिए।
कर्णाली र काठमाडौंको विकासलाई एउटै ढाँचामा हेर्न नहुने बताउँदै उनले प्रदेशको सीमित स्रोतसाधनतर्फ ध्यानाकर्षण गराए। कर्णाली प्रदेशको वार्षिक आय करिब ५२ करोड रुपैयाँ मात्र रहेको उल्लेख गर्दै उनले काठमाडौं महानगरपालिकासँग तुलना गरे। घरबहाल करबाट ठूलो आम्दानी हुने काठमाडौंमा कर्णालीबाट बसाइँ सरेका नागरिकको घरभाडा पनि त्यहीँ जम्मा हुने उनले टिप्पणी गरे।
“पाँच वर्ष परिवर्तनको वर्ष बनाऔँ,” उनले आग्रह गर्दै कर्णालीको विकासका लागि स्थिर नीति, स्पष्ट योजना र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। साथै उनले नयाँ मात्रै भनेर केही नहुने तर्क गरे। यसअघि कर्णालीबाट माओवादी पनि नयाँ भनेरै आए पनि केही नगरेको सुनाए।
‘हिजो कर्णालीमा गाउँगाउँमा भाषण गर्दा माओवादीले के भनेको थियो? २३०–३५ वर्ष राज्य सत्ता लुटे, अब हामी आउँछौँ। सत्ता लिएपछि गणतान्त्रिक सत्तामा सबै चमत्कार हुन्छ भनेको होइन? देखेको होइन?,’ थापाले भने, ‘नयाँ नयाँ नयाँ भनेर आउँदा नयाँको देखेको होइन हामीले? फेरि भुलभलैयामा पर्ने हामी?’













