कुनै पनि राजनीतिक दलसँग तालमेल गर्दैनौः प्रचण्ड
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग तालमेल नगर्ने स्पष्ट घोषणा गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा आफ्नै एजेन्डा र संगठनात्मक शक्तिको आधारमा चुनावमा जाने बताए। उनले मिडियामा विभिन्न राजनीतिक समीकरण र गठबन्धनबारे भइरहेका चर्चालाई निराधार ठहर गरे।
“हामी पहिलो दिनदेखि नै आफ्नै पार्टी र जनताको बलमा निर्वाचनमा जाने कुरा गर्दै आएका छौँ,” उनले भने, “तर बाहिर अनावश्यक रूपमा तालमेल र समीकरणको हल्ला फैलाइएको छ, त्यसको हामीले पटक–पटक खण्डन गरेका छौँ।”
प्रचण्डले भदौ २३ गतेको जिम्मेवार दल र भदौ २४ गते विध्वंस मच्चाउने दलसँग पनि कुनै सहकार्य नहुने बताए। केही निर्वाचन क्षेत्रमा सिट बाँडफाँट वा सहमति हुने चर्चा समेत असत्य रहेको उनको दाबी छ।
उनका अनुसार नेकपा आत्मनिर्भर राजनीतिक धारका साथ चुनावी मैदानमा उत्रिने तयारीमा छ। उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसँग मिलेर महागठबन्धन बन्ने सम्भावनालाई समेत पूर्ण रूपमा अस्वीकार गरे।“हामी स्पष्ट राजनीतिक लाइनका साथ अघि बढेका छौँ, कसैसँग लुकेको वा खुलेको कुनै सहमति छैन,” उनले जोड दिए।













