नेपाली कांग्रेसको ‘भिजन १०’ घोषणा, एकीकृत सहरी विकासमा जोड
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । संघीय राजधानी केन्द्रित दीर्घकालीन विकास खाकासहित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूले ‘काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र : भिजन १०’ सार्वजनिक गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीनवटै जिल्लाका उम्मेदवारहरू भर्चुअल माध्यमबाट सहभागी हुँदै साझा प्रतिबद्धता सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा उपत्यकालाई एउटै सहरका रूपमा लिएर समन्वित र योजनाबद्ध विकास गर्ने लक्ष्य राखिएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका मौलिक विशेषता संरक्षण गर्दै एकीकृत सहरी विकास योजना कार्यान्वयन गरिने उल्लेख गरिएको छ। उपत्यकालाई सफा, सुन्दर, आधुनिक, सुशासित र जीवन्त विश्वस्तरीय सहर बनाउने दीर्घकालीन लक्ष्यसमेत तय गरिएको छ।
उपत्यकाको वहन क्षमताअनुसार सहर व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनर्सरचना योजना लागू गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई थप सुदृढ र सक्षम बनाइने जनाइएको छ । यातायात सुधारका लागि एकीकृत सहरी यातायात नीति र स्मार्ट मोबिलिटी अवधारणा लागू गर्दै मास ट्रान्सपोर्ट प्रणालीसहितको पूर्वाधार विकास गरिने उल्लेख छ।
पैदलयात्री र साइकलमैत्री संरचना विस्तार गरी ‘वाकेबल सिटी’को अवधारणा कार्यान्वयन गर्ने योजना समेटिएको छ। उपत्यकाभित्रको वायु तथा फोहरजन्य प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पारिने बताइएको छ।
सार्वजनिक तथा पुरातात्विक सम्पदाको संरक्षणका लागि एकीकृत योजना लागू गरिने तथा नदीहरूको संरक्षण, शुद्धीकरण र सौन्दर्यीकरण कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता छ। निकुञ्ज, सार्वजनिक वन र पार्कको संरक्षणमार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य पनि राखिएको छ।
शिक्षालाई प्रविधिमैत्री, व्यवहारिक र गुणस्तरीय बनाउँदै सबैको पहुँच सुनिश्चित गरिने उल्लेख छ। स्वास्थ्य सेवामा सर्वसुलभता र गुणस्तर अभिवृद्धि गरिने प्रतिज्ञा गरिएको छ। एकीकृत भू–उपयोग नीति तर्जुमा गरी भवन संहिता, ढल व्यवस्थापन र सहरी पुनरुत्थान गुरुयोजना लागू गरिने तथा विपद् व्यवस्थापनका लागि पूर्वचेतावनी प्रणालीसहित कमाण्ड सेन्टर स्थापना गर्ने योजना समावेश गरिएको छ।
बेरोजगारी, गरिबी र असमानता घटाउन रोजगारी सिर्जना, युवालक्षित कार्यक्रम र डिजिटल तथा आइटी क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गरिने उल्लेख छ। सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थापनका लागि विशेष योजना लागू गरिने प्रतिबद्धता पनि जनाइएको छ।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ५० वर्षे जनसंख्या प्रक्षेपणमा आधारित वृहत्तर योजना निर्माण गरिने तथा भूमिगत जलस्रोत संरक्षणका लागि जलभण्डारण र पुनर्भरण कार्यक्रम लागू गरिने बताइएको छ।
कार्यक्रममा महामन्त्री पौडेलले संघीय राजधानीको दिगो र योजनाबद्ध विकास कांग्रेसको प्राथमिकतामा रहेको उल्लेख गर्दै साझा प्रतिबद्धताले उपत्यकाको समग्र विकासमा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे।













