२२ दलको एकताबाट बनेको नेकपाद्वारा चुनावी अपिल सार्वजनिक (पूर्णपाठसहित)
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै २२ वटा कम्युनिष्ट तथा समाजवादी दल र समूहको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार चुनावी अपिल सार्वजनिक गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधव कुमार नेपालद्वारा हस्ताक्षरित अपिलमा ‘व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं’ भन्ने मूल नारासहित ‘तारा’ चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको छ।
अपिलमा सुशासन, आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाधीनतालाई मुख्य चुनावी मुद्दा बनाइएको छ। वर्तमान निर्वाचन प्रणाली खर्चिलो र जटिल भएको ठहर गर्दै पार्टीले कम खर्चिलो र सरल निर्वाचन प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएको छ। गठबन्धन राजनीतिका कारण अस्थिरता बढेको उल्लेख गर्दै स्पष्ट जनादेशसहित स्थिर सरकार निर्माण गर्ने दाबी गरिएको छ।
संविधानप्रति प्रतिबद्धता जनाउँदै अतिवादी सोचलाई परास्त गर्ने र आवश्यक समीक्षा तथा परिमार्जनमार्फत लोकतान्त्रिक गणतन्त्र र समावेशी व्यवस्थालाई सुदृढ गर्ने अठोट व्यक्त गरिएको छ। वैज्ञानिक समाजवादतर्फ अग्रसर हुने दीर्घकालीन लक्ष्य पनि अपिलमा उल्लेख छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गर्दै सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने प्रतिबद्धता जनाइएको छ। अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने तथा संघीयताको मर्मअनुसार प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने योजना प्रस्तुत गरिएको छ।
आर्थिक क्षेत्रमा कृषि, उद्योग, जलस्रोत र पर्यटनको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राखिएको छ। आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने र कालोबजारी तथा मिटरब्याजी नियन्त्रण गर्ने नीति अघि सारिएको छ।
सामाजिक विभेद अन्त्य गर्ने, शिक्षा–स्वास्थ्यमा समान पहुँच सुनिश्चित गर्ने तथा राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ।













