कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै असन्तुष्ट प्रतिनिधिहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। गत असोज ६ देखि सुरु भएको यस अभियानमा गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहलगायत १ सय ९ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन्। अभियानलाई सबै प्रदेशमा विस्तार गरिने जनाइएको छ।
कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग आएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। केन्द्रीय समितिबाट यस्तो निर्णय आउने सम्भावना न्यून देखिएकाले प्रतिनिधिहरूले प्रत्यक्ष हस्ताक्षर संकलनमार्फत दबाब दिन थालेका हुन्।
अभियानका अगुवाहरूले यो कुनै समूह वा गुटको मात्रै पहल नभइ सबै असन्तुष्ट पक्षको साझा प्रयास भएको बताएका छन्। उनीहरूले पार्टी वर्तमान राजनीतिक परिस्थिति र जनअपेक्षासँग मेल खाने गरी सञ्चालन हुनुपर्नेमा जोड दिएका छन्। पार्टी नेतृत्वको कार्यशैली, नीति र निर्णयमाथि प्रश्न उठाउँदै असहमति राख्नेहरूलाई विभेद गरिएको आरोप पनि उनीहरुले लगाएका छन् ।







