नेपाली कांग्रेसले चुनावी लहर बलियो भएको दाबी

User Image Prime TV News ६ दिन अगाडि
Image of नेपाली कांग्रेसले चुनावी लहर बलियो भएको दाबी

काठमाडौ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा आफ्नो चुनावी लहर बलियो रहेको दाबी गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले देशको राजनीतिक संक्रमणलाई सामना गर्दै मुलुकको स्थिरता कायम गर्ने र समृद्ध राष्ट्र निर्माण गर्ने दल आफू नै भएको जिकिर गरेको छ।

पार्टीका उम्मेदवारहरूले हाल देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा सक्रिय प्रचार प्रसार र मतदातासँग अन्तरक्रिया गरिरहेका छन्। कांग्रेसका शीर्ष नेताहरू क्षेत्रीय सभाहरूमा सम्बोधन गर्दै अन्तिम साताको चुनावी अभियानमा गति थपेका छन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, सुर्खेत र बाँकेमा सम्पन्न क्षेत्रीय सभामा ठूलो उपस्थिती रहेको थियो। उनले अन्य दलका नेता–कार्यकर्ताहरू पनि कांग्रेसमा प्रवेश गरिरहेको दाबी गरे। उदाहरणका लागि, राष्ट्रिय स्वतन्त्र पार्टीका नवलपरासी पश्चिमका सभापति महेन्द्र सिंह ठकुरी बर्दघाटमा कांग्रेसमा प्रवेश गरे।

सुर्खेतमा कम्युनिस्ट पार्टीका नेता धनलाल गुरुङ, बलराम रावल, भोजराज मल्ल र नारायण बस्नेतसहित ८० जना नेता–कार्यकर्ताले पार्टीमा समाहित भएको जानकारी दिइयो। चालिसेले आगामी शुक्रबार पोखरामा हुने आमसभामा विभिन्न दलका नेता कार्यकर्तासँगै स्वतन्त्र व्यक्ति र ‘जेन–जी’ आन्दोलनका अगुवाहरू पनि पार्टीमा प्रवेश गर्ने कार्यक्रम रहेको बताए।

कांग्रेसले निर्वाचन आचारसंहिताको पालनालाई प्राथमिकता दिएको र उल्लंघन गर्नेविरुद्ध कडा कारबाहीको माग गरेको छ। पार्टीले विभाजनकारी अभिव्यक्ति, सामाजिक सद्भाव भंग गर्ने कार्य र व्यक्तिगत घृणा फैलाउने प्रवृत्तिको कडा आलोचना पनि गरेको छ।

पार्टीले लोकतन्त्रलाई आचरण र व्यवहारबाट सुसंस्कृत बनाउन सबै दल र नागरिक समाज जिम्मेवार हुने र शासनको वैधता जनताको मतमा आधारित हुनेमा जोड दिएको छ। साथै, भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।