पाकिस्तान र अफगानिस्तान सीमामा तनाव चर्कियो, दुई देश बीच गोली हानाहान र सैन्य कारबाही
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । पाकिस्तान र अफगानिस्तान बीचको सीमावर्ती क्षेत्रमा तनाव थप चर्किएको छ। पछिल्ला केही दिनयता दुवै देशका सुरक्षा बलबीच गोली हानाहान र सीमित सैन्य कारबाही भएको खबर आएको छ।
अफगान तालिबान प्रशासनले कुनार प्रान्त आसपास पाकिस्तानतर्फबाट पहिला हवाई आक्रमण भएको दाबी गर्दै त्यसको प्रतिकारस्वरूप सीमामा कारबाही गरिएको जनाएको छ। तालिबान पक्षका अनुसार उक्त झडपमा केही पाकिस्तानी सैनिक मारिएका छन् र केही चौकी अस्थायी रूपमा आफ्नो नियन्त्रणमा आएको छ।
तर पाकिस्तानी अधिकारीहरूले ती दाबीहरू अस्वीकार गरेका छन्। पाकिस्तानको दाबी अनुसार अफगान पक्षबाट भएको आक्रमणपछि जवाफी कारबाही गरिएको हो र त्यस क्रममा अफगान लडाकुलाई ठूलो क्षति पुगेको छ। पाकिस्तानले आफ्ना कुनै पनि मुख्य सैन्य चौकी कब्जा नभएको स्पष्ट पारेको छ।
अफगान मिडिया तथा पाकिस्तानी मिडियामा आएका रिपोर्टहरूमा हताहतीको संख्या, कब्जा गरिएका चौकी र सैन्य सामग्रीबारे फरक फरक दाबी गरिएको छ। ती विवरणहरू स्वतन्त्र अन्तर्राष्ट्रिय स्रोतबाट पुष्टि भइसकेका छैनन्।
विशेषगरी डुरन्ड रेखा क्षेत्रमा यसअघि पनि पटक पटक यस्ता झडप हुँदै आएका छन्। अन्तर्राष्ट्रिय समुदायले हालसम्म औपचारिक प्रतिक्रिया नजनाए पनि क्षेत्रीय स्थिरतामाथि असर पर्न सक्ने भन्दै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।













