संखुवासभा ताप्लेजुङ सीमा क्षेत्रमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प

User Image Prime TV News ५ दिन अगाडि
Image of संखुवासभा ताप्लेजुङ सीमा क्षेत्रमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौ । संखुवासभा ताप्लेजुङ सीमा क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु संखुवासभा जिल्लाको टोप्के गोला आसपास रहेको थियो। भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा स्पष्ट रूपमा महसुस गरिएको जनाइएको छ।

भूकम्पपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो। यद्यपि हालसम्म मानवीय वा ठूला भौतिक क्षतिको कुनै आधिकारिक विवरण प्राप्त भएको छैन। दुवै जिल्लाका सुरक्षा निकायले प्रारम्भिक अनुगमनपछि अवस्था सामान्य रहेको बताएका छन् भने सम्भावित क्षतिको विवरण संकलन कार्य जारी रहेको जानकारी दिएका छन्।

हिमाली क्षेत्रमा पटक–पटक भूकम्प जाने भएकाले सतर्कता आवश्यक रहेको विज्ञहरूले बताएका छन्। कमजोर संरचना भएका घर तथा सार्वजनिक भवनहरूमा जोखिम उच्च हुने भएकाले भूकम्पीय सुरक्षाका उपाय अपनाउन स्थानीय तह र नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।