चुनावको आचारसंहिताले काठमाडौमा होली खुम्चियो, सडक र सार्वजनिक स्थानमा पूर्ण रोक

User Image Prime TV News ५ दिन अगाडि
Image of चुनावको आचारसंहिताले काठमाडौमा होली खुम्चियो, सडक र सार्वजनिक स्थानमा पूर्ण रोक

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले यस वर्ष फागू पूर्णिमा (होली) पर्वलाई कडा नियन्त्रणमा राख्दै सार्वजनिक स्थानमा कुनै पनि प्रकारको होली गतिविधि नगर्न निर्देशन दिएको छ।

निर्वाचनको आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै प्रशासनले उत्सवलाई घरभित्र सीमित गर्न स्पष्ट सन्देश दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालको हस्ताक्षरमा जारी सूचनाअनुसार सार्वजनिक स्थलमा भिडभाड, होहल्ला, झै–झगडा, मादक पदार्थ सेवन तथा बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिएको छ।

कसैको इच्छाविपरीत रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने वा जबरजस्ती गरे कानुनी कारबाही हुने चेतावनी प्रशासनले दिएको छ। यसपटक होली पर्व निर्वाचनको समयसँग जुधेकाले राजनीतिक गतिविधि झल्किने कुनै पनि सामग्री प्रयोग गर्न नपाइने स्पष्ट गरिएको छ।

कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न, तस्बिर अंकित टिसर्ट, टोपी, गम्छा, ब्याज, मास्क वा लकेट प्रयोग गरे आचारसंहिता उल्लङ्घन मानिने प्रशासनको भनाइ छ।

खुला सडक, चोक, पार्क तथा अन्य सार्वजनिक स्थानमा भेला भई होली मनाउन, मेला–महोत्सव आयोजना गर्न, मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न पूर्ण रोक लगाइएको छ। प्रशासनले होली पर्व आफ्नै घरको कम्पाउण्डभित्र परिवार र नजिकका आफन्तसँग मात्र, मर्यादित र शान्त ढंगले मनाउन आग्रह गरेको छ।

निर्देशन उल्लङ्घन गरे कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिँदै प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र निर्वाचनको निष्पक्षता कायम राख्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।