कांग्रेस सभापति थापाले कार्यकर्तालाई भने, घर घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुस्
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा मात्र सीमित नबस्न आग्रह गरेका छन्। रूपन्देहीको बुटवलमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले निर्वाचन नजिकिँदै गर्दा घर घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्न निर्देशन दिएका हुन्।
‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ, नअलमलिनुस्। घर–घर जानुस्,’ उनले भने, ‘सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस्, तर त्यसमै मात्र अड्केर नबस्नुस्।’
थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको उल्लेख गर्दै कार्यकर्तालाई सक्रिय रूपमा प्रचार प्रसारमा जुट्न आग्रह गरे। ‘तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस्। तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्। तपाईंको मुख चलाउनुस्, संवाद चलाउनुस्,’ उनले भने, ‘नौजवानहरूको कुरा सुन्नुस्।’
नवयुवासँग संवाद गर्दा सुरुवातमा आलोचना आउन सक्ने भन्दै उनले संयमित रूपमा संवाद अघि बढाउन सुझाव दिए। ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान्, तर राम्रोसँग संवाद गर्नुस्,’ उनले भने, ‘उनीहरूलाई बताउनुस यो कांग्रेस अधिवेशनबाट नयाँ संकल्प गरेर आएको छ।’
विशेष महाधिवेशनबाट विगतका राम्रा अभ्यासलाई निरन्तरता दिँदै कमजोरी त्याग्ने प्रतिबद्धता कांग्रेसले लिएको दाबी गर्दै थापाले पार्टीलाई अवसर दिन मतदातासँग अपिल गर्न आग्रह गरे। ‘हिजोका राम्रा कुराहरू बोक्छौं, खराब कुराहरू छोड्छौं भनेर नयाँ संकल्प गरेका छौं,’ उनले भने, ‘यो कांग्रेसले पाँच वर्षभित्र परिणाम दिने प्रतिज्ञा गरेर आएको छ।’
उत्तेजनात्मक राजनीतिबाट टाढा रहन आग्रह गर्दै उनले सामाजिक सञ्जाल र अनलाइन सामग्रीले भ्रम सिर्जना गर्न सक्ने चेतावनी दिए। ‘यो टेलिफोनले धेरैलाई झुक्याएको छ। बेलुका घर गएर हेर्ने युट्युब र फेसबुकले धेरै भ्रममा पार्न सक्छ,’ उनले भने, ‘धेरै भ्रममा नपरौं।’
थापाले विदेशमा रहेका नेपाली समुदायसँग पनि सहयोगको अपेक्षा व्यक्त गरे। ‘संसारभर छरिएका नेपालीलाई आह्वान गर्छौं तपाईंहरूको सहयोग चाहिएको छ,’ उनले भने, ‘हामी मिलेर एउटा ताकत बनाउनुपर्ने छ।’ ‘नेपाली कांग्रेसले तलबाट काम गर्दै यहाँसम्म आइपुगेको हो,’ उनले थपे, ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौं भनेर माटोमा खुट्टा जमाएर बसेका छौं।’













