निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छः गृहमन्त्री अर्याल
Prime TV News ५ दिन अगाडि 
दोलखा । ओम प्रकाश अर्यालले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन्।
दोलखाको बैतेश्वर गाउँपालिका स्थित मतदान केन्द्रको निरीक्षण तथा अनुगमनपछि आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले विगतमा देखिएका कमजोरी सच्याउँदै यसपटक धाँधलिरहित निर्वाचन सुनिश्चित गरिने स्पष्ट पारे। उनले सम्बद्ध अधिकारीहरूलाई शान्तिपूर्ण वातावरण निर्माण गरी मतदातालाई निर्धक्क मतदान गर्ने वातावरण मिलाउन निर्देशन दिए।
सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत, मिथ्या र दुष्प्रचारपूर्ण सूचनाबाट सचेत रहन आग्रह गर्दै उनले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आ–आफ्नो क्षेत्रमा जिम्मेवार ढंगले तयारीमा जुट्न आह्वान गरे।
अनुगमनका क्रममा गृहमन्त्री अर्यालसँगै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतको टोली सहभागी थियो। टोलीले मतदान केन्द्रको भौतिक अवस्था, सुरक्षा प्रबन्ध र समन्वय संयन्त्रबारे छलफल गरेको जनाइएको छ। छलफलमा विगतका निर्वाचन अनुभवको समीक्षा गर्दै संवेदनशील क्षेत्रको पहिचान र सुरक्षा योजना सुदृढीकरणमा जोड दिइएको थियो।
जिल्ला प्रशासन र सुरक्षा निकायबीच समन्वय बढाइएको तथा सम्भावित अवरोध र जोखिम न्यूनीकरणका उपायहरू अपनाइएको अधिकारीहरूले बताएका छन्। विगतमा समस्या देखिएका स्थानहरूमा विशेष निगरानी र आवश्यक कडाइ गरिएको जानकारी पनि दिइएको छ।
बैतेश्वर गाउँपालिकामा आठ मतदानस्थल र २१ मतदान केन्द्र छन्। यहाँ कुल १८ हजार ४२२ मतदाता रहेका छन्। यस क्षेत्रमा विगतका निर्वाचनमा ९० देखि ९५ प्रतिशतसम्म मत खस्ने गरेको तथ्यांक छ, जसले उच्च जनसहभागिताको संकेत गर्छ।
निर्वाचन नजिकिँदै जाँदा दोलखामा सुरक्षा तयारी, समन्वय र जनचेतनामूलक पहलहरूलाई प्राथमिकता दिइएको छ। सरकारले मतदातालाई निर्धक्क रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता दोहोर्याएको छ।













