घोषणापत्र बुझाउन ४३ दल मात्र अघि, बाँकीलाई आयोगको सचेतना

User Image Prime TV News ५ दिन अगाडि
Image of घोषणापत्र बुझाउन ४३ दल मात्र अघि, बाँकीलाई आयोगको सचेतना

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहेका बेला निर्वाचन आयोग मा हालसम्म ४३ राजनीतिक दलले मात्र चुनावी घोषणापत्र बुझाएका छन्। आयोगको राजनीतिक शाखाका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका सबै दलमध्ये उल्लेख्य संख्याले अझै घोषणापत्र दर्ता गराएका छैनन्।

आयोगले घोषणापत्र सार्वजनिक गरी औपचारिक रूपमा बुझाएपछि मात्र चुनावी प्रचार–प्रसारमा जान दलहरूलाई निर्देशन दिएको थियो। यही फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसारको अवधि सुरु भइसकेको छ। निर्वाचन आचारसंहितामा दल तथा उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था छ। साथै, घोषणापत्र कार्यान्वयनको वार्षिक विवरणसमेत बुझाउनुपर्ने प्रावधान रहेको आयोगले जनाएको छ।

यसपटक प्रतिनिधिसभा निर्वाचनमा ६१ चुनाव चिह्नअन्तर्गत ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। तर तीमध्ये २२ दलले अझै घोषणापत्र बुझाउन बाँकी रहेको देखिएको छ। आयोगले आचारसंहिताको पूर्ण पालना गर्न र निर्धारित प्रक्रिया अवलम्बन गर्न सम्बन्धित सबै दललाई पुनः सचेत गराएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा घोषणापत्र सार्वजनिक गर्ने र प्रचार अभियानलाई तीव्र बनाउने क्रम बढ्ने अपेक्षा गरिएको छ। आयोगले पारदर्शी र व्यवस्थित निर्वाचन सुनिश्चित गर्न आवश्यक अनुगमन तथा समन्वय जारी राखेको जनाएको छ।