चुनावी खर्चमा कडाइ: उम्मेदवार र परिवारका खातामा आयोगको निगरानी

User Image Prime TV News ५ दिन अगाडि
Image of चुनावी खर्चमा कडाइ: उम्मेदवार र परिवारका खातामा आयोगको निगरानी

काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न कडाइ बढाएको छ। आयोगले उम्मेदवारका एकाघरका परिवारको बैंक खातासमेत निगरानीमा राख्दै अनुगमन प्रक्रिया तीव्र पारेको जनाएको छ।

आयोगले यसअघि नै सबै राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्न छुट्टै बैंक खाता खोल्न निर्देशन दिएको थियो। तर केही उम्मेदवारले बैंकिङ प्रणालीबाहिरबाट खर्च गरेको आशंका भएपछि आयोगले परिवारका सदस्यहरूको खातासमेत निगरानीमा राख्ने निर्णय गरेको हो।

निर्वाचन आचारसंहिताअनुसार चुनावी खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता प्रयोग गर्नुपर्ने व्यवस्था छ। केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजकसमेत रहेका आयोगका आयुक्त सगुनशमशेर जबरा ले तोकिएको व्यवस्था पालना नगर्ने उम्मेदवारमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन्।

उम्मेदवारको खर्च विवरणको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत भइरहेको आयोगले जनाएको छ। यदि पुरानै खाता प्रयोग गरी खर्च गरिएको पाइएमा उम्मेदवार र परिवारको बैंक कारोबारको विवरण अध्ययन गरिने र आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

आयोगले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दल र उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न पुनः आग्रह गरेको छ। चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला खर्च व्यवस्थापन र पारदर्शितालाई केन्द्रमा राखेर अनुगमन कडाइ गरिएको आयोगको भनाइ छ।