प्रतिनिधिसभा निर्वाचनका लागि २ लाख २१ हजार कर्मचारी परिचालित
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी परिचालित हुने भएका छन्।
निर्वाचन आयोगका अनुसार ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ स्थायी मतदान केन्द्र र समानुपातिक मत हाल्ने १४३ अस्थायी केन्द्रमा कर्मचारी परिचालन हुनेछ। निर्वाचनमा सहायक प्रवक्ता प्रकाश न्यौपाने का अनुसार पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएको केन्द्रमा आठ जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आवश्यक प्रशिक्षण दिइसकिएको छ भने अन्य मतदान कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था पनि रहेको छ। निर्वाचनका लागि आवश्यक सामग्री र मतपत्र बिहीबार नै १६५ निर्वाचन क्षेत्रमा वितरण भइसकेको छ। आयोगले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सञ्चालन गर्ने तयारी पूरा भइसकेको जनाएको छ।













