एमालेले राष्ट्रियताको पक्षमा दृढ अडान लिएको छः इश्वर पोखरेल

User Image Prime TV News ५ दिन अगाडि
Image of एमालेले राष्ट्रियताको पक्षमा दृढ अडान लिएको छः इश्वर पोखरेल

काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ अडान लिएको बताएका छन्।

काठमाडौं ५ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै पोखरेलले एमालेले सामाजिक सद्भाव र बहुसांस्कृतिकता जस्ता मुद्दालाई पनि प्राथमिकताका साथ उठाएको बताए। उनले भने,“यो हाम्रो देश बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधता भएको देश हो। यसलाई बिथोल्न खोज्ने कुनै पनि कुरा गलत हुन्, ती चिजहरूलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो अडान हो।”

पोखरेलले शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन, स्वरोजगारी, सामाजिक सुरक्षा, कृषि, उद्योग, पूर्वाधार र ऊर्जा क्षेत्रमा पार्टीले केन्द्रित भएर काम गर्दै आएको जानकारी दिए। उनले विकास निर्माणका कामहरूमा केही परियोजना अलपत्र परेकाले ती अब अघि बढाउनुपर्ने एमालेको सङ्कल्प रहेको बताए।

उनले आगामी निर्वाचनलाई लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा फर्काउने महत्त्वपूर्ण अवसर भएको समेत बताए। पोखरेलले भने,“०८४ सालमा हुनुपर्ने निर्वाचन ०८२ मा सामान्य रूपमा हुन सकेन। यो अवस्था दुर्भाग्यपूर्ण थियो, अब यसलाई पुनः संविधानिक र लोकतान्त्रिक मार्गमा ल्याउन आवश्यक छ।”

साथै उनले देशको हित विपरीत गतिविधिहरू रोक्न र देशभक्त नागरिकहरूलाई एकत्रित गर्न पार्टी दृढ रहेको बताए।