प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचन हैनः प्रचण्ड

User Image Prime TV News ५ दिन अगाडि
Image of प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचन हैनः प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा नलिनुपर्ने बताए।

शुक्रबार काठमाडौंमा आयोजित नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले मुलुकमा अहिले दुई किसिमका अतिवाद फैलिरहेको बताए। उनले भने,“भदौ २३ गते युवाहरूलाई दमन गर्ने र २४ गते विध्वंस गर्ने दुवै अतिवादका विरुद्ध नेपाली कम्युनिस्ट पार्टी खडा छ। त्यसकारण यो निर्वाचनलाई कसैले पनि सामान्य रूपमा लिनुहुँदैन।”

पूर्वप्रधानमन्त्री प्रचण्डले यस निर्वाचनलाई लोकतन्त्र र गणतन्त्र बचाउने, साथै महिला, दलित, जनजाति, मधेसी र मुस्लिम लगायतको अधिकारको संरक्षण गर्ने महत्त्वपूर्ण अवसरको रूपमा उल्लेख गरे। उनले भने,“अधिकारमाथि धावा बोल्ने र त्यसको रक्षा गर्नेहरूका बीचको लडाईंका रूपमा यो निर्वाचन अगाडि आइरहेको छ। यसकारण हामी यसलाई राष्ट्रको स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने जीवन मरणको सङ्घर्षको रूपमा लिन्छौं।”

प्रचण्डले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई समाधान गर्ने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी गठन भएको दाबी पनि गरे। उनले थपे कि निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भए आफ्नो पार्टीलाई कसैले रोक्न नसक्नेछ। “दुई अतिवादी चिन्तनलाई परास्त गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। यदि कसैले धाँधली गर्न खोज्यो भने बुथ बुथ र वडा वडामा तयार रहनुहोस्,” प्रचण्डले सम्बोधनमा भने।