नेपाली कांग्रेसले देशलाई बदल्ने लक्ष्य राखेको छः उपसभापति शर्मा

User Image Prime TV News ५ दिन अगाडि
Image of नेपाली कांग्रेसले देशलाई बदल्ने लक्ष्य राखेको छः उपसभापति शर्मा

पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले देशलाई बदल्ने लक्ष्य राखेको बताएका छन्। उनले चुनावी मैदानमा प्रतिस्पर्धी दललाई दुश्मनीको दृष्टिले नहेर्न सबैमा आग्रह गरेका छन्।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले भने, “हामी देशलाई बदल्न चाहन्छौँ। त्यसकारण सबैभन्दा पहिले राजनीतिलाई, राजनीतिक शैली र संस्कारलाई बदल्नुपर्छ। राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन्।”

उनले चुनावी प्रतिस्पर्धालाई दुश्मनीको अखडा नभई व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञका रूपमा लिनुपर्ने पनि जोड दिएका छन्। उनले थपे, “आज प्रतिस्पर्धामा रहेका दलहरू भोलि सँगै काम गर्नुपर्ने छन्। त्यसैले दलहरूको मञ्चबाट गाली होइन, प्रेमको संप्रेषण गरौँ। निर्वाचनको बेला मुलुकलाई निकास दिने विषयमा बहस हुनुपर्छ।”

शर्माले निर्वाचनपछि सबै दलहरूले सत्तापक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले चुनावी समयलाई सकारात्मक र सहकार्यमुखी वातावरणमा प्रयोग गर्न आवश्यक रहेको बताए।