पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति समेत अनुसन्धानको दायरामा ल्याउछौः गगन थापा

User Image Prime TV News ५ दिन अगाडि
Image of पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति समेत अनुसन्धानको दायरामा ल्याउछौः गगन थापा

पोखरा । गगनकुमार थापाले सरकार गठन भएलगत्तै पूर्वप्रधानमन्त्री र मन्त्री भइसकेका नेताहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका हुन्।

उनले विशेषगरी २०४६ सालपछि प्रधानमन्त्री भएका नेताहरूको सम्पत्ति छानबिन गरिने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति समेत अनुसन्धानको दायरामा ल्याइने स्पष्ट पारे। साथै, मन्त्री भइसकेका आफ्नै सम्पत्तिसमेत छानबिनका लागि तयार रहेको उनको भनाइ थियो।

“देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ। त्यसका लागि शक्तिशाली आयोग गठन गरिन्छ। उक्त आयोगले २०४६ सालपछि प्रधानमन्त्री र मन्त्री भएका सबैको सम्पत्ति छानबिन सुरु गर्छ,” उनले भने, “आफ्नो मान्छे भए पनि छोडिन्न, प्रत्येक काण्डको निष्पक्ष अनुसन्धान हुन्छ।”

थापाले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी र संस्थागत संरचना सुदृढ गरिने र भविष्यमा कुनै पनि प्रकारका अनियमितता हुन नदिने प्रतिबद्धता जनाए। उनले परिवर्तन चावुक चलाएर वा बल प्रयोग गरेर नभई विधि र कानुनको दायराभित्र रहेर सम्भव हुने बताए।

सभामा उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र उद्योग क्षेत्रमा पाँच वर्षभित्र उल्लेखनीय सुधार गर्ने कांग्रेसको योजना समेत सार्वजनिक गरे। आवश्यक संस्था र कानुन निर्माणमार्फत ती क्षेत्रमा क्रान्तिकारी रूपान्तरण ल्याइने उनको दाबी थियो।

थापाले मुलुकमा सुशासन र पारदर्शिता स्थापित गर्न कडा तर विधिसम्मत कदम चालिने दोहोर्‍याउँदै आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध स्पष्ट एजेन्डासहित चुनावी मैदानमा आएको बताए।