प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घन व्यापक, १ हजार ७६ उजुरी दर्ता
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू व्यापक रूपमा देखिएका छन्। निर्वाचन सन्दर्भमा जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल १ हजार ७६ उजुरी दर्ता भएका छन्।
निर्वाचन आयोगका अनुसार तीमध्ये १ हजार ६१ उजुरी फर्स्योट गरिएको छ। तर उजुरीको संख्या र प्रकृतिले निर्वाचन आचारसंहिताको पालना कमजोर रहेको देखिन्छ । प्रदेशगत विवरण अनुसार सबैभन्दा धेरै उजुरी लुम्बिनी प्रदेशमा २४४ दर्ता भएका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका छन्।
आयोगका अनुसार प्राप्त उजुरीमध्ये ९७ लिखित रहेका छन् भने ९७९ उजुरी टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका छन्। यसले आचारसंहिता उल्लङ्घन सामान्यजस्तै भइसकेको संकेत गर्छ।
उजुरीहरूमा तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोग, सामाजिक सञ्जालको दुरुपयोग, डिजे माइक बजाएर ध्वनि प्रदूषण, शिक्षक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधि प्रचारमा संलग्न, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँग्ने, तथा अनुमति नलिएका सवारी साधन प्रयोग गरेकोजस्ता आरोपहरू प्रमुख छन्।
निर्वाचन आयोगले उजुरी फर्स्योट भइरहेको दाबी गरे पनि बारम्बार दोहोरिने उल्लङ्घनले आचारसंहिता कार्यान्वयनमा गम्भीर कमजोरी रहेको देखाएको छ।












