रास्वपाको 'घण्टी अभिवादन कार्यक्रम '

User Image Prime TV News ४ दिन अगाडि
Image of रास्वपाको 'घण्टी अभिवादन कार्यक्रम '

काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ उपत्यकाका तीनै जिल्ला समेट्ने गरी जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम सुरु गरेको छ। पार्टीको यो अभियान गौशालाबाट सुरु भई बेलुकी वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेर समापन हुने तालिका तय गरिएको छ।

‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने नारासहित सुरु गरिएको कार्यक्रमको उद्देश्य जनतासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको उपस्थितिलाई उपत्यकाभर विस्तार गर्नु रहेको रास्वपाले जनाएको छ। कार्यक्रम पशुपतिनाथ मन्दिर नजिकैबाट सुरु गरिएको छ, जसलाई पार्टीले सांस्कृतिक र जनघनत्वको दृष्टिले प्रतीकात्मक स्थानको रूपमा व्याख्या गरेको छ।

सार्वजनिक गरिएको रुट म्याप अनुसार अभियान काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य बस्ती, चोक र आवासीय क्षेत्र हुँदै अघि बढ्नेछ। भक्तपुरका विभिन्न क्षेत्रमा जनसम्पर्कपछि टोली ललितपुर प्रवेश गर्नेछ, जहाँ पुलचोकमा दिउँसो १ बजे छोटो विश्राम राखिएको छ।

दोस्रो चरणमा अभियान पुनः काठमाडौँ फर्किएर कालिमाटी, टेकु, कीर्तिपुर, बालाजु, बुढानीलकण्ठ, बानेश्वर, माइतीघर, जमल लगायत क्षेत्र हुँदै अघि बढ्नेछ। कार्यक्रम अन्ततः वनस्थली चोकस्थित रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टी घर’मा पुगेर समापन हुनेछ।

रास्वपाले यो कार्यक्रमलाई औपचारिक भाषण र सभामुखी अभियानभन्दा फरक, सिधै जनतामाझ पुग्ने प्रयासका रूपमा चित्रण गरेको छ। उपत्यकामा केन्द्रित यो सक्रियताले पार्टीले आगामी राजनीतिक गतिविधिमा काठमाडौँ उपत्यकालाई उच्च प्राथमिकतामा राखेको रास्वपाले जनाएको छ ।