आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्र बनाउँदै ओली
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचनको मिति नजिकिँदै जाँदा ओलीले दमक केन्द्रित घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद थालेका हुन्।
अभियानका क्रममा ओली दमकका विभिन्न वडामा पुगेका थिए। घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति देखिएको थियो, जहाँ मतदाताले विकास र आधारभूत सेवासम्बन्धी आफ्ना समस्या खुलेर राखेका थिए।
स्थानीय बासिन्दाले खानेपानीको अभाव, सडक पूर्वाधारको कमजोर अवस्था तथा सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको गुनासो गरेका छन्। युवाहरूले रोजगारी र भविष्यको दिशाबारे प्रश्न उठाउँदै स्पष्ट योजना मागेका थिए।
यसको जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु भएका तर अधुरा रहेका आयोजनाहरूलाई पूरा गर्ने प्रतिबद्धता जनाए। उनले झापा–५ लाई विकासका दृष्टिले नमूना क्षेत्र बनाउने लक्ष्यसहित पुनः जनताको बीचमा आएको बताएका छन्।
ओलीको सक्रिय उपस्थितिसँगै झापा–५ मा चुनावी गतिविधि थप चर्किएको छ। शीर्ष नेताको घरदैलो अभियानले क्षेत्रको राजनीतिक माहोल तातिँदै गएको देखिन्छ ।













