एपस्टिनका गैरकानुनी गतिविधिबारे केही नदेखेको र केही गलत नगरेको बिल क्लिन्टनको दावी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले कुख्यात जेफ्री एपस्टिनसँग जोडिएको यौन अपराध प्रकरणबारे अमेरिकी संसदीय समितिसमक्ष बन्द कोठामा बयान दिएका छन्। यो बयान शुक्रबार न्युयोर्कमा दिनभर चलेको हो।
बीबीसीका अनुसार संसदीय समितिको सोधपुछका क्रममा क्लिन्टनले आफूले एपस्टिनका गैरकानुनी गतिविधिबारे “केही नदेखेको र केही गलत नगरेको” दाबी गरेका छन्। उनले एपस्टिन के गरिरहेको छ भन्ने जानकारी पाएको भए उनीसँगको सम्बन्ध तत्काल तोड्ने र उनको निजी विमान प्रयोग नगर्ने बताएका छन्।
यस विषयमा चासो बढ्नुको कारण हालै अमेरिकी न्याय विभागले सार्वजनिक गरेका दस्तावेज हुन्। ती कागजातमा समावेश केही तस्बिर र विवरणका कारण एपस्टिनसँग सम्बन्ध राखेका शक्तिशाली व्यक्तिहरूको भूमिकामाथि पुनः प्रश्न उठेको छ।
यसअघि संसदीय समितिले क्लिन्टनकी पत्नी तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनसँग पनि बयान लिइसकेको छ। उनले पनि एपस्टिनको अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताएका थिए।
एपस्टिन यौन अपराध प्रकरणले अमेरिकामात्र होइन, अन्तर्राष्ट्रिय राजनीतिमा समेत ठूलो तरङ्ग ल्याएको छ। विभिन्न देशका उच्च पदस्थ व्यक्ति र प्रभावशाली व्यक्तित्वहरू अनुसन्धानको दायरामा तानिँदै गएका छन्। यही कारण विश्वभर कानुनी, राजनीतिक र कूटनीतिक तहमा दबाब बढ्दै गएको देखिन्छ।
अनुसन्धान अझै जारी रहेकाले आगामी दिनमा थप खुलासा र बयान सार्वजनिक हुने सम्भावना उच्च रहेको बताइएको छ ।













