मन्त्री घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सहकार्यको प्रतिबद्धता

User Image Prime TV News १ हप्ता अगाडि
Image of मन्त्री घिसिङ र बेलायती राजदूतबीच भेटवार्ता, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा सहकार्यको प्रतिबद्धता

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका नवनियुक्त मन्त्री कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीबीच सोमबार सिंहदरबारमा भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत फेनबीले घिसिङलाई मन्त्री पदमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटवार्तामा नेपाल र बेलायतबीचको दीर्घकालीन मित्रता, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार विकासमा लगानीको सम्भावना तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणमा सहकार्यको विषयमा विस्तृत छलफल भएको बताइएको छ । मन्त्री घिसिङले जनजी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकता सार्वजनिक संरचनाको पुनर्निर्माण, आमचुनावको तयारी तथा सुशासनलाई स्थापित गर्नु रहेको जानकारी गराएका थिए । 

भेटमा नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन स्थापनामा बेलायतबाट भइरहेको सहयोगप्रति घिसिङले प्रशंसा व्यक्त गरे। उनले बेलायतमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी मोडेल नेपालमा पनि कार्यान्वयन गर्न सकिने सम्भावनाबारे चर्चा गर्दै, ग्रिन हाइड्रोजन प्रविधिको प्रवर्धन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययनजस्ता क्षेत्रमा समेत बेलायतको सहयोग आवश्यक रहेको उल्लेख गरे।

राजदूत फेनबीले नेपाललाई बेलायतको पुरानो मित्र राष्ट्रका रूपमा व्याख्या गर्दै नेपालको आर्थिक विकास र रूपान्तरणमा बेलायतले सधैं सकारात्मक सहयोग गर्दै आएको र आगामी दिनहरूमा समेत सहकार्यलाई अझै सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे।