मध्यपूर्वमा युद्धमा नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न दलहरूको आग्रह

User Image Prime TV News ३ दिन अगाडि
Image of मध्यपूर्वमा युद्धमा नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न दलहरूको आग्रह

काठमाडौ । मध्यपूर्वमा युद्धको अवस्था चर्किँदै जाँदा त्यहाँ कार्यरत नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न प्रमुख राजनीतिक दलहरूले सरकारलाई कडा आग्रह गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले एकपछि अर्को प्रतिक्रिया दिँदै सरकारको सक्रियता अपरिहार्य भएको स्पष्ट पारेका छन्।

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि त्यसको प्रतिउत्तरमा इरानले अमेरिकी सैन्य अखडामा आक्रमण गरेको घटनाले मध्यपूर्वको अवस्था अस्थिर बनेको छ। यसले त्यहाँ रहेका लाखौँ विदेशी कामदारसहित नेपाली नागरिकको सुरक्षा जोखिममा परेको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमार्फत वर्तमान परिस्थितिले गम्भीर चिन्ता उत्पन्न गरेको जनाउँदै मध्यपूर्वमा रहेका नेपालीलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित दूतावासलाई नेपाली नागरिकको अवस्थाबारे निरन्तर अपडेट लिँदै आवश्यक परे तत्काल सहयोग र व्यवस्थापनमा जुट्न निर्देशन दिन आग्रह गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि मध्यपूर्वको तनावले नेपाललाई प्रत्यक्ष असर पार्न सक्ने भन्दै सरकारलाई ढिलासुस्ती नगर्न चेतावनी दिएका छन्। उनले संयुक्त अरब इमिरेट्स, इजरायल, इरानलगायत देशमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि दूतावासहरूलाई तुरुन्त सक्रिय बनाउन माग गरेका छन्।

त्यस्तै, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्व गम्भीर संकटमा फसेको टिप्पणी गर्दै लाखौँ नेपालीको सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउन सरकारलाई आग्रह गरेका छन्। उनले कूटनीतिक पहल, उच्च सतर्कता र प्रभावकारी सुरक्षा संयन्त्र तत्काल लागू गर्नुपर्नेमा जोड दिएका छन्।

मध्यपूर्व संकट गहिरिँदै जाँदा प्रमुख दलहरूबाट एकै स्वरमा आएको दबाबले अब सरकार निष्क्रिय बस्न नसक्ने अवस्था स्पष्ट भएको छ।