मध्यपूर्व क्षेत्रमा हवाई सुरक्षा अवस्था बिग्रिएपछि अन्तर्राष्ट्रिय उडानहरू रद्द

User Image Prime TV News ३ दिन अगाडि
Image of मध्यपूर्व क्षेत्रमा हवाई सुरक्षा अवस्था बिग्रिएपछि अन्तर्राष्ट्रिय उडानहरू रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई सुरक्षा अवस्था बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानहरू एकाएक प्रभावित भएका छन्। उडान प्रतिबन्ध लागेका कारण आज दिउँसो र राति हुने सातवटा अन्तर्राष्ट्रिय गन्तव्यका सबै उडान रद्द गरिएको छ।

विमानस्थल प्रशासनका अनुसार सारजहा, दोहा, दुबई, कुवेत सिटी, अबुधाबी, कतार र दमाम तर्फका उडानहरू स्थगित भएका हुन्। ती विमानस्थलहरूमा हवाई उडानमा प्रतिबन्ध लगाइएपछि नेपालबाट हुने उडान पनि रोकिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले प्रतिबन्ध कायम रहेसम्म उडान पुनः सुरु नहुने जानकारी दिएका छन्। उनका अनुसार उडान कहिले खुल्ने भन्ने विषयमा सम्बन्धित अन्तर्राष्ट्रिय निकायबाट निर्णय आएपछि मात्रै नयाँ तालिका सार्वजनिक गरिनेछ।

उडान रद्द भएपछि वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि यात्रा गर्न लागेका यात्रुहरू समस्यामा परेका छन्। विमानस्थल कार्यालयले यात्रुहरूलाई बिना पुष्टि विमानस्थल नआउन आग्रह गर्दै, आफ्नो उडानको अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग अग्रिम सम्पर्क गर्न अनुरोध गरेको छ।

अचानक उडान ठप्प हुँदा नेपालबाट मध्यपूर्व आवतजावत गर्ने हवाई सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ, जसको असर यात्रु र वायुसेवा दुवैतर्फ देखिन थालेको छ।