यूएईमा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि दूतावासले नेपाली नागरिकलाई सतर्क रहन आग्रह
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि त्यहाँस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सतर्क रहन कडा आग्रह गरेको छ।
नेपाली दूतावास आबुधाबीले ट्राभल एडभाइजरी जारी गर्दै अनावश्यक आवतजावत नगर्न र स्थानीय सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको हो।
दूतावासका अनुसार इरानले आबुधाबी नजिकैको अल–दाफ्रा स्थित अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि यूएईको सुरक्षा स्थिति थप संवेदनशील बनेको छ। त्यसपछि यूएई सरकारले समेत नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको जनाइएको छ ।
जारी सूचनामा दूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमले यूएईमा रहेका नेपालीको सुरक्षामा जोखिम बढ्न सक्ने भन्दै उच्च सावधानी अपनाउन स्पष्ट निर्देशन दिएको छ। दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मार्गदर्शन, सूचना र आदेशहरू अक्षरशः पालना गर्न आग्रह गरेको छ।
आपतकालीन अवस्था, आवश्यक परामर्श वा सहयोगका लागि नेपाली नागरिकलाई नेपाली महावाणिज्यदूतावास दुबई तथा आबुधाबीस्थित दूतावाससँग तत्काल सम्पर्क गर्न भनिएको छ।
मध्यपूर्वमा बढ्दो सैन्य तनावको असर यूएईसम्म फैलिँदै जाँदा हजारौँ नेपाली श्रमिक र व्यवसायीको सुरक्षा गम्भीर चासोको विषय बनेको छ। यस्तो अवस्थामा सरकारी कूटनीतिक संयन्त्र निरन्तर सक्रिय रहनु अपरिहार्य देखिएको छ ।












