इरानका सर्वोच्च नेता अली खामेनेईको निधन

User Image Prime TV News ३ दिन अगाडि
Image of इरानका सर्वोच्च नेता अली खामेनेईको निधन

काठमाडौ । इरानका सर्वोच्च नेता अली खामेनेईको निधन पछि मध्यपूर्वको राजनीतिक अवस्था झन् तरल बनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खामेनेईको मृत्यु भइसकेको दाबी गर्दै आइतबार बिहान आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा कडा टिप्पणी गरेका छन्।  सर्वोच्च नेता खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।

ट्रम्पले आफ्नो पोस्टमा खामेनेईलाई 'इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक' भन्दै अब उनी जीवित नरहेको उल्लेख गरेका छन्। उनको यो अभिव्यक्ति शनिबार संयुक्त राज्य अमेरिका र इजरायलले इरानका विभिन्न सहरमा गरेको सैन्य आक्रमणपछि आएको हो।

यसैबीच,इरान सरकारी टेलिभिजनले पनि आयतुल्लाह अली खामेनेईको निधन भएको पुष्टि गरेको छ। टेलिभिजन प्रस्तोताले भावुक अवस्थामै खामेनेईको मृत्युको घोषणा गर्दै इरानभर ४० दिन राष्ट्रिय शोक मनाइने जानकारी दिएका छन्।

खामेनेईको मृत्युको खबर सार्वजनिक भएपछि इरानभित्र राजनीतिक अन्योल बढेको छ भने अन्तर्राष्ट्रिय समुदायको ध्यान इरानको भावी नेतृत्व र सम्भावित सत्ता हस्तान्तरणतर्फ केन्द्रित भएको छ। पछिल्ला सैन्य आक्रमण र नेतृत्व परिवर्तनको खबरले मध्यपूर्व अझ ठूलो संकटतर्फ धकेलिन सक्ने चिन्ता बढाएको छ।