दुर्गा प्रसाईलाई प्रहरीले पुनः पक्राउ

User Image Prime TV News ३ दिन अगाडि
Image of दुर्गा प्रसाईलाई प्रहरीले पुनः पक्राउ

काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पुनः पक्राउ गरेको छ। उनलाई भक्तपुरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

प्रहरी स्रोतका अनुसार पक्राउपछि प्रसाईलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।

प्रसाई यसअघि सर्वोच्च अदालतको आदेशमा फागुन १३ गते रिहा भएका थिए। तर पछिल्लो समय निर्वाचन बिथोल्न सक्ने गतिविधिमा संलग्न हुन सक्ने आशङ्काका कारण प्रशासनले फेरि नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले प्रसाईविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ। पछिल्ला दिनमा उनको गतिविधिलाई लिएर सुरक्षा निकाय सतर्क देखिएको छ भने बारम्बार पक्राउ र रिहाइको क्रमले राजनीतिक तथा प्रशासनिक वृत्तमा विवादसमेत उत्पन्न गराएको छ।