खामेनीईको मृत्यु स‌गै इरानमा अबको नेता को ?

User Image Prime TV News ३ दिन अगाडि
Image of खामेनीईको मृत्यु स‌गै इरानमा अबको नेता को ?

काठमाडौ । इरानको राज्य सञ्चारमाध्यमले इरानका सर्वोच्च नेताको आयतोल्लाह अली खामेनीईको निधन भएको आधिकारिक रूपमा पुष्टि गरेको छ। राज्य टेलिभिजन र सरकारी निकायले उनको मृत्यु घोषणा गर्दै ४० दिनको राष्ट्रिय शोक अवधि र सात दिनको सार्वजनिक बिदाको घोषणा गरेका छन्।

इरानी सरकारी स्रोतका अनुसार ८६ वर्षका खामेनीई आफ्नो दफ्तरमा ‘कर्तव्य पालन’ गर्दै गर्दा मृत घोषित भएका छन्। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य पश्चिमी अधिकारीहरूले संयुक्त सैन्य कारबाहीमा खामेनीईको मृत्यु भएको संकेत गरेका थिए।

इरानले घटनालाई “शहीदी आत्म−त्याग” भनेर वर्णन गर्दै, यसका लागि दोषीलाई कडा प्रतिशोध दिने चेतावनी दिएको छ। देशभित्र र क्षेत्रभर तनाव उच्च भएको छ। विश्वका विभिन्न सरकारहरूले स्थिरता र संयम अपनाउन आह्वान गरेका छन्।

इरानको संवैधानिक प्रणाली अनुसार नयाँ सर्वोच्च नेता ८८ सदस्यीय विशेषज्ञको सभामार्फत चुन्नुपर्ने व्यवस्था छ। यसले देशको राजनीतिक र धार्मिक नेतृत्वको दिशा निर्धारण गर्नेछ र शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने सम्भावना छ। 

इरानी कानुनानुसार, विज्ञ सभाले सकेसम्म छिटो नयाँ सर्वोच्च नेता चयन गर्नुपर्छ । तर, यसमा ढिलाइ भएमा ‘अस्थायी नेतृत्व परिषद्’ले सबै नेतृत्वसम्बन्धी कार्य सम्हाल्न सक्छ । यो परिषद् इरानका वर्तमान राष्ट्रपति, न्यायपालिका प्रमुख र गार्डियन काउन्सिलका एक सदस्यबाट गठन हुन्छ । यसलाई ‘एक्सपेरियन्सी काउन्सिल’ले चयन गर्छ । यस्तो अवस्था आएको खण्डमा सुधारवादी राष्ट्रपति मसुद पेजेश्कियन र कडा अडानका न्यायपालिका प्रमुख घोलाम हुसेन मोसेनी एजई यो परिषद्मा सामेल हुनेछन् ।

उत्तराधिकारी छनोटसम्बन्धी छलफल र रणनीति प्रायः सार्वजनिक नजरभन्दा बाहिर हुने गर्छन् । पहिले खामेनीईका शिष्य तथा कडा अडानका राष्ट्रपति इब्राहिम रायसीले पद सम्हाल्न सक्ने अनुमान गरिएको थियो । तर, सन् २०२४ मेमा हेलिकोप्टर दुर्घटनामा परी उनको मृत्यु भयो ।

त्यसपछि खामेनीईका छोरा मोजतबा खामेनीई (५६ वर्षीय शिया धर्मगुरु)लाई सम्भावित उमेदवारका रूपमा अघि सारिएको छ । यद्यपि, हालसम्म उनले कुनै सरकारी पद सम्हालेका छैनन् । यदि, पिताबाट छोरामा सत्ता हस्तान्तरण गरिए इरानको धार्मिक शासनप्रणाली र नागरिकबीच विवाद निम्त्याउन सक्छ । केहीले यसलाई गैरइस्लामिक अभ्यासका रूपमा व्याख्या गर्न सक्ने सम्भावना पनि छ ।

यो घटनाले अन्तर्राष्ट्रिय सुरक्षा अवस्थालाई चुनौती दिएको छ र तेल बजार, मध्यपूर्व कूटनीति र विश्व राजनीतिको भविष्यलाई पनि प्रभावित गर्ने अपेक्षा गरिएको छ।