काभ्रेमा २३ मतदानस्थल अतिसंवेदनशील
Prime TV News ३ दिन अगाडि 
काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा अस्थायी मतदाता सूची सार्वजनिक गरिएको छ। जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हाल २४८१ अस्थायी मतदाता कायम भएका छन्।
अस्थायी मतदाता सूचीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारी संस्था, सेना, प्रहरी, कारागारका कैदी–थुनुवा, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू समावेश हुने व्यवस्था गरिएको छ। साथै ज्येष्ठ नागरिक आश्रम लगायत विशेष संस्थामा रहेका नागरिकहरू पनि अस्थायी मतदाताका रूपमा मतदान गर्न पाउनेछन्।
अस्थायी मतदानका लागि प्रहरी, कर्मचारी र अन्य योग्य मतदाताहरू आफ्नो कार्यस्थलमा मतदान गर्नेछन् भने कैदीबन्दी जिल्ला कारागार कार्यालय काभ्रेमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन्।
जिल्लामा कुल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन्। दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४०० मतदान केन्द्र र १८९ मतदानस्थल कायम गरिएको छ। जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थललाई संवेदनशील र तीमध्ये २३ मतदानस्थल अतिसंवेदनशील घोषणा गरेको छ।
जिल्ला प्रहरी प्रमुख कोमल शाह का अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा कडा बनाइनेछ। यसका लागि २ हजार ९० निर्वाचन प्रहरी, १ हजार ११९ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी र प्रत्येक मतदान स्थलमा नेपाली सेना परिचालन गरिएको छ।
जिल्लाका कुल मतदातामध्ये एक लाख ६७ हजार ४९९ पुरुष, ५९ हजार ११० महिला र दुई जना अन्य लिङ्गका मतदाता रहेका छन्। निर्वाचन तयारीले काभ्रेपलाञ्चोकमा सुरक्षित र व्यवस्थित मतदानको वातावरण सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।













