निर्वाचन सुरक्षामा आफ्नो भूमिका यथावत रहन्छः नेपाली सेना
Prime TV News ३ दिन अगाडि 
काठमाडौ । निर्वाचन सुरक्षामा आफ्नो भूमिका यथावत् रहेको भन्दै नेपाली सेना ले स्पष्टिकरण दिएको छ। मतपेटिका ढुवानीमा सेनाको संलग्नताबारे विभिन्न राजनीतिक दलका नेताहरूले प्रश्न उठाएपछि सेनाले औपचारिक धारणा सार्वजनिक गरेको हो।
सेनाले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजना अनुरूप काम भइरहेको जनाएको छ। सुरक्षा व्यवस्थासम्बन्धी सम्पूर्ण कार्यहरू प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४ र प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सञ्चालन भइरहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, राजनीतिक दलका प्रतिनिधि तथा नेपाली सेना सम्मिलित संयुक्त टोलीले मतपेटिका मतगणना स्थलसम्म सुरक्षित रूपमा ढुवानी गर्ने व्यवस्था छ।
२०४८ सालदेखि सम्पन्न हुँदै आएका सबै निर्वाचनमा सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौँबाट जिल्लासम्म मतपत्र ढुवानी, मतदान अवधिमा तेस्रो घेरामा सुरक्षा प्रदान गर्ने तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा पु¥याउने जिम्मेवारी निर्वाह गर्दै आएको सेनाले स्मरण गराएको छ।
सेनाले निर्वाचन प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सबै सुरक्षा निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै भ्रम नफैलाउन आग्रह गरेको छ।














