सरकारले भन्यो मध्यपूर्वका देशमा १७ लाख २९ हजार २८८ जना नेपाली नागरिकहरुको सुरक्षा उच्च प्राथमिकतामा

User Image Prime TV News ३ दिन अगाडि
Image of सरकारले भन्यो मध्यपूर्वका देशमा १७ लाख २९ हजार २८८ जना नेपाली नागरिकहरुको सुरक्षा उच्च प्राथमिकतामा

काठमाडौ । परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली नागरिक वैधानिक रूपमा कार्यरत तथा बसोबास गरिरहेको जनाएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले दूतावासहरूबाट प्राप्त विवरणका आधारमा यो तथ्यांक सार्वजनिक गर्दै अवैधानिक रूपमा गएकाहरूको संख्या यसमा समावेश नभएको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) मा करिब सात लाख रहेका छन्। त्यसपछि साउदी अरब मा ३ लाख ८४ हजार ८६५, कतार मा ३ लाख ५७ हजार ९१३ र कुवेत मा १ लाख ७५ हजार नेपाली कार्यरत छन्।

यस्तै, इराक मा ३० हजार, बहराइन मा २८ हजार, ओमान मा २५ हजार, साइप्रस मा १७ हजार, इजरायल मा करिब ६ हजार ५०० र लेबनान मा १ हजार ५०० नेपाली रहेको मन्त्रालयले जनाएको छ। साथै इजिप्ट मा ५०० र इरान मा १० जना नेपाली रहेकोमा इरानबाट ४ जना फर्किने क्रममा रहेको जानकारी दिइएको छ।

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका कारण त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मुख्यसचिवको निर्देशनमा परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला ‘इमर्जेन्सी रेस्क्यु टिम’ गठन गरिएको छ भने मध्यपूर्वस्थित ८ नेपाली दूतावास र २ वाणिज्य दूतावाससँग २४ घण्टा सूचना आदानप्रदान भइरहेको छ।

आकस्मिक उद्धारको आवश्यकता परे सहज बनाउन कन्सुलर सेवा विभागमार्फत अनलाइन दर्ता प्रणाली र एप निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसैबीच, क्षेत्रीय द्वन्द्वका कारण हवाई उडान प्रभावित हुँदा ट्रान्जिटमा रोकिएका तथा गन्तव्यमा पुग्न नसकेका नेपालीहरूको व्यवस्थापनका लागि सरकार पर्यटन मन्त्रालय, एयरलाइन्स र वैदेशिक रोजगार व्यवसायीहरूसँग समन्वयमा रहेको जनाएको छ। जोखिमपूर्ण देशहरूमा तत्कालका लागि श्रम स्वीकृति र एनओसी रोक्ने विषयमा पनि छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

हाल अमेरिका र इजरायलले इरान माथि हमला गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेसँगै मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ। उक्त परिस्थितिलाई ध्यानमा राख्दै सरकारले आवश्यक परे उद्धार तथा समन्वयका सबै विकल्प तयारी अवस्थामा राखेको जनाएको छ।