यो निर्वाचन ‘अतिवाद’ का बिरुद्धको लडाई होः प्रचण्ड

User Image Prime TV News २ दिन अगाडि
Image of यो निर्वाचन ‘अतिवाद’ का बिरुद्धको लडाई होः प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’ को खतरासँग जुधिरहेको बताएका छन् । 

उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण  कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताए । एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता र अनिश्चिय तर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ।

यी दुबै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरेका छन् । अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए । 

संयोजक प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताए । नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उनले बताए । उनले नेपाली कम्युनिष्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै  नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए । 

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उनको भनाई छ । आफु र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उहाँले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताए । 

उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपील गरे । “हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” भन्दै प्रचण्डले परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गरे ।