इजरायलका प्रधानमन्त्री बेन्जामिनलाई मोदीको फोन, तत्काल हिंसा रोक्न आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । मध्यपूर्वमा बढ्दो तनावका बीच भारतले उच्चस्तरीय कूटनीतिक संवाद तीव्र पारेको छ।
नरेन्द्र मोदीले आइतबार राति इरानमाथि भएको आक्रमणपछि बेन्जामिन नेतन्याहु सँग टेलिफोन वार्ता गरेका छन्। उक्त वार्तामा इजरायल, अमेरिका र इरान बिच देखिएको द्वन्द्व र त्यसले क्षेत्रीय सुरक्षामा पारेको प्रभावबारे छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै पछिल्लो घटनाक्रमप्रति भारतको गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले आम नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै तत्काल हिंसा रोक्नुपर्ने भारतको स्पष्ट अडान दोहोर्याएका छन्।
यसैक्रममा मोदीले आइतबारै राति शेख मोहम्मद बिन जायद अल नाह्यान सँग पनि टेलिफोन वार्ता गरेका छन्। वार्तामा संयुक्त अरब इमिरेट्समा भएको आक्रमणप्रति कडा निन्दा व्यक्त गर्दै जनधनको क्षतिप्रति दुःख प्रकट गरिएको छ। कठिन परिस्थितिमा भारत यूएईको साथमा रहेको सन्देश पनि दिइएको छ।
हालै अमेरिका र इजरायलले इरानमा संयुक्त सैन्य कारबाही गरेको दाबीपछि तनाव थप चर्किएको छ। त्यसको प्रत्युत्तरमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडातर्फ आक्रमण गरेको समाचार सार्वजनिक भएका छन्। यद्यपि यी घटनाबारे स्वतन्त्र पुष्टि र विस्तृत विवरण आउन बाँकी छ।
मध्यपूर्वमा फैलँदै गएको यो संकटले क्षेत्रीय स्थायित्व, अन्तर्राष्ट्रिय सुरक्षा र विश्वव्यापी आर्थिक गतिविधिमा गम्भीर असर पार्न सक्ने देखिएकाले भारतले संयमता, संवाद र कूटनीतिक समाधानमा जोड दिँदै आएको छ।













