यूएईमा सुरक्षा सतर्कता बढेपछि नेपाली दूतावासद्वारा अत्यावश्यकबाहेक सेवा नलिन आग्रह
Prime TV News २ दिन अगाडि 
काठमाडौ । संयुक्त अरब इमिरेट्समा उत्पन्न सुरक्षा सतर्कताका कारण त्यहाँस्थित नेपाली नियोगहरूले सेवाग्राहीलाई अनावश्यक आवतजावत नगर्न आग्रह गरेका छन्।
यूएईस्थित नेपाली दूतावासले फागुन १८ देखि २० गतेसम्म अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासबाट प्रदान हुने कन्सुलर सेवा अत्यावश्यक परेमा मात्र लिन आउन अनुरोध गरेको छ।
दूतावासका अनुसार सो अवधिमा राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामालगायतका सेवा तुरुन्तै आवश्यक नभए केही दिन प्रतीक्षा गर्न उपयुक्त हुनेछ। यूएई सरकारका आधिकारिक निकायले अत्यावश्यक बाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा रहन र संयमता अपनाउन जारी गरेका सुरक्षा निर्देशनलाई गम्भीर रूपमा लिन दूतावासले आग्रह गरेको छ।
“परिस्थिति सहज भएपछि आफ्ना कामका लागि दूतावास वा महावाणिज्यदूतावासमा आउनु उपयुक्त हुनेछ,” दूतावासले जनाएको छ। राहदानी नवीकरणका लागि मार्च ०२ देखि मार्च ०४ बीचको मिति राखी अनलाइन फाराम भरेका सेवाग्राहीले भने फाराम सुरक्षित राखी पछि जुनसुकै कार्यदिनमा उपस्थित भएमा सेवा प्रदान गरिने व्यवस्था मिलाइएको दूतावासले स्पष्ट पारेको छ।
क्षेत्रीय अस्थिरता र सुरक्षा जोखिमका कारण अनावश्यक भीड र यात्रा आफैंमा खतरा हुन सक्ने भएकाले नेपाली नागरिकलाई जिम्मेवार र सतर्क रहन दूतावासले पुनः आग्रह गरेको छ।












