मतदाता शिक्षा अभियान सम्पन्न, बदर मत घटाउनेमा निर्वाचन आयोगको जोड

User Image Prime TV News २ दिन अगाडि
Image of मतदाता शिक्षा अभियान सम्पन्न, बदर मत घटाउनेमा निर्वाचन आयोगको जोड

काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचनको महत्वबारे जानकारी गराउने, मतदान प्रक्रिया स्पष्ट बनाउने र बदर मत घटाउने उद्देश्यसहित सञ्चालन गरिएको यो अभियान फागुन ३ गतेदेखि सुरु भई आइतबार सकिएको हो।

आयोगका अनुसार देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। ७५३ स्थानीय तहका सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाताको घरदैलोमै पुगेर नमूना मतपत्रका माध्यमबाट मतदान गर्ने तरिका र मत हाल्दा ध्यान दिनुपर्ने विषयबारे जानकारी दिइएको थियो।

निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले स्थानीय समुदायमा भिजेका इमानदार स्वयंसेवकका कारण कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको बताइन्। उनले विशेषगरी महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाको प्रशंसा गर्दै लक्षित वर्गसम्म सन्देश पुग्न सफल भएको उल्लेख गरिन्।

२०७९ को आम निर्वाचनदेखि मतदाता शिक्षा प्रदान गर्ने जिम्मेवारी महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको छ। यस पटक पनि उनीहरूमार्फत मतदातालाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोगले जनाएको छ।

मतदाता शिक्षा कार्यक्रमको अनुगमनका लागि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई जिम्मेवारी दिइएको थियो। कार्यक्रम सम्पन्न भएपछि स्वयंसेवकहरूले आयोगमा प्रतिवेदन बुझाउने प्रक्रिया सुरु हुने जनाइएको छ।

निर्वाचन आयोगले मतदाता शिक्षाले मात्र निर्वाचन स्वच्छ र विश्वसनीय बन्ने भन्दै, मतदातालाई सचेत भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।