खामेनीको हत्या भएको दाबीपछि पाकिस्तान अशान्त, कर्फ्यु र सुरक्षा सतर्कता कडा
Prime TV News २ दिन अगाडि 
काठमाडौ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएको दाबी सार्वजनिक भएपछि पाकिस्तानका विभिन्न सहरहरूमा व्यापक हिंसात्मक प्रदर्शन फैलिएको छ।
आइतबार सुरु भएको प्रदर्शन देशका प्रमुख सहरहरूमा उग्र बन्दै जाँदा हालसम्म कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। शिया समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा प्रदर्शन नियन्त्रण बाहिर गएपछि सुरक्षाफौजले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको सरकारी स्रोतले जनाएको छ ।
झडपका क्रममा कराँची मा १०, गिल्गिट–बाल्टिस्तानको स्कार्दु मा ८ र राजधानी इस्लामावादमा २ जनाको ज्यान गएको पुष्टि गरिएको छ। इस्लामावादको रेड जोन क्षेत्रमा हजारौँ प्रदर्शनकारी भेला भई अमेरिका र इजरायल विरुद्ध कडा नाराबाजी गरेका थिए।
अमेरिकी दूतावासतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। इस्लामावादका सरकारी अस्पतालहरूमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ। उता कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको सुरक्षाघेरा तोड्दै भवनमा क्षति पुर्याएपछि स्थिति गम्भीर बनेको थियो। सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाह ले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कडा कारबाही हुने बताएका छन्।
उत्तर क्षेत्रमा पर्ने स्कार्दुमा प्रदर्शनकारीहरूले संयुक्त राष्ट्र संघ को कार्यालयमा आगजनी गरेपछि स्थानीय प्रशासनले तीन दिनका लागि कर्फ्यु घोषणा गरेको छ। सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।
पाकिस्तान सरकारले इरानमाथि भएको आक्रमणको औपचारिक निन्दा गरे पनि प्रदर्शनकारीहरूले सरकारको प्रतिक्रिया कमजोर र औपचारिक मात्रै भएको आरोप लगाएका छन्। यसैबीच इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई भिडभाड र प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन कडा सुरक्षा चेतावनी जारी गरेको छ।
विश्लेषकहरूका अनुसार सन् १९७९ मा अमेरिकी दूतावासमा भएको आगजनीको स्मृतिलाई ताजा गराउने गरी यसपटकको घटनाले पाकिस्तानको आन्तरिक सुरक्षा अवस्था अत्यन्त नाजुक मोडमा पुगेको संकेत गरेको छ। लाहोर, पेशावर, मुल्तान र फैसलावादमा समेत विरोध प्रदर्शन जारी छन्।












