फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

User Image Prime TV News २ दिन अगाडि
Image of फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री कार्की

काठमाडौ । सुशीला कार्कीले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गर्दै सम्पूर्ण देशबासीलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान गर्न आह्वान गरेकी छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्। प्रधानमन्त्री कार्कीले वर्तमान परिस्थितिलाई मुलुकका लागि संवेदनशील घडीको रूपमा व्याख्या गर्दै आफूले राष्ट्रहितलाई केन्द्रमा राखेर जिम्मेवारी सम्हालेको बताइन्।

उनले निर्वाचन सम्पन्न गराउनु नै आफ्नो मुख्य दायित्व भएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सबै राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाजको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिन्।

होली पर्वको सन्दर्भ उल्लेख गर्दै उनले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वासलाई बलियो बनाउँदै निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा मनाउन आग्रह गरिन्। उनले मतदातालाई निर्भीक रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै निर्वाचनपछि जनताबाट निर्वाचित सरकारले नै देशको नेतृत्व सम्हाल्ने बताइन्।

प्रधानमन्त्री कार्कीले आफूले सधैं न्याय, पारदर्शिता र निष्ठालाई प्राथमिकतामा राखेर काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि संवैधानिक प्रक्रिया र विधिको शासनलाई सुदृढ गर्न सरकार प्रतिबद्ध रहने विश्वास व्यक्त गरिन्।