वामपन्थी शक्तिहरूबीच पुनः एकता आवश्यक छः प्रचण्ड

User Image Prime TV News २ दिन अगाडि
Image of वामपन्थी शक्तिहरूबीच पुनः एकता आवश्यक छः प्रचण्ड

काठमाडौ । पुष्पकमल दाहाल प्रचण्डले मुलुकको बदलिँदो राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच पुनः एकता आवश्यक भएको बताएका छन्।

भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अहिलेको समय वाम ध्रुवीकरणको भएको उल्लेख गरे। नेपाली कम्युनिष्ट पार्टीका संयोजकसमेत रहेका उनले विभिन्न दलबाट नेता–कार्यकर्ता आफ्नो पार्टीमा आउने क्रम तीव्र भएको दाबी गरे। उनका अनुसार, कम्युनिस्ट शक्तिहरूलाई विभाजित अवस्थाबाट एकीकृत दिशातर्फ लैजान पहल अघि बढाइएको छ।

उनले २०७४ सालको निर्वाचनको उदाहरण दिँदै तत्कालीन  एमाले र माओवादी केन्द्रबीचको सहकार्यले ठूलो जनमत प्राप्त गरेको स्मरण गरे। तर नेतृत्व र व्यवस्थापनमा कमजोरी हुँदा प्राप्त उपलब्धि जोगाउन नसकिएको उनको भनाइ थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि राजनीतिक ध्रुवीकरण तीव्र बनेको उल्लेख गर्दै उनले कम्युनिस्ट तथा क्रान्तिकारी शक्तिहरूबीच सहकार्य अझै अपरिहार्य बनेको बताए। “जनताको विश्वासलाई संगठित र दीर्घकालीन शक्ति बनाउन अब एकताबद्ध भएर अघि बढ्नुपर्छ,” उनले भने।

यस अवसरमा भक्तपुरका विभिन्न वडाबाट केही स्थानीय नेता तथा कार्यकर्ताले एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र विचारको स्पष्टतामा जोड दिने बताए।