नेपालमा भोलि राति खण्डग्रास चन्द्रग्रहण देखिने
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपालमा भोलि, मंगलबार राति खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार सन् २०२६ मा हुने चार ग्रहणमध्ये नेपालबाट देखिने यो पहिलो चन्द्रग्रहण हो।
ग्रहण चन्द्रोदयसँगै सुरु भएर राति ७:०२ बजेसम्म रहनेछ। मौसम अनुकूल भएमा देशभरका सबै भागबाट यसलाई स्पष्ट रूपमा देख्न सकिने सोसाइटीले जनाएको छ। विशेष उपकरण आवश्यक नपरी घरको छत, खुला चौर वा डाँडाजस्ता स्थानबाट अवलोकन गर्न सकिनेछ।
सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, “चन्द्रोदयसँगै सुरु हुने भएकाले वरपरको उचाइयुक्त स्थानबाट हेर्दा खण्डग्रास चन्द्रग्रहण अझ स्पष्ट देखिन्छ। यसले प्राकृतिक दृश्यको अद्भुत अनुभव दिनेछ।”
चन्द्रग्रहण तब देखिन्छ जब पृथ्वी सूर्य र चन्द्रमाबीच पर्दछ। चन्द्रमाले आफ्नै प्रकाश नपाउने भएकाले पृथ्वीको छायाँले ढाक्दा खण्डग्रास चन्द्रग्रहणको दृश्य उत्पन्न हुन्छ। पुरानो ज्योतिषशास्त्र अनुसार, चन्द्रमाको कक्ष पृथ्वीको कक्षीय धरातलसँग करिब पाँच डिग्री झुकेको भएकाले हरेक पूर्णिमामा चन्द्रग्रहण हुँदैन। चन्द्रकक्षले पृथ्वीको कक्षीय धरातल काट्ने दुई बिन्दुलाई प्राचीन कालमा राहु र केतु भनिन्छ।












