मध्यपूर्वमा तनाव बढ्दै: इजरायल–अमेरिका–इरान युद्ध तेस्रो दिनमा प्रवेश

User Image Prime TV News २ दिन अगाडि
Image of मध्यपूर्वमा तनाव बढ्दै: इजरायल–अमेरिका–इरान युद्ध तेस्रो दिनमा प्रवेश

काठमाडौ । मध्यपूर्वमा इजरायल र अमेरिका विरुद्ध इरानको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा क्षेत्रीय तनाव थप बढेको छ।

इरानले साउदी अरबको प्रमुख तेल रिफाइनरी ‘रास तनुरा’ मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द गरिएको छ। यस रिफाइनरीको क्षमता दैनिक करिब ५.५–६ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने हो र यो विश्वकै प्रमुख अपतटीय तेल टर्मिनलमध्ये एक हो। यसबाट अमेरिका, एसिया र युरोपसहित विभिन्न देशहरूमा ठूलो मात्रामा तेल निर्यात हुन्छ।

इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानी ले सोमबार स्पष्ट गर्दै अमेरिकासँग कुनै वार्ता नगर्ने बताए। उनले हालैका केही रिपोर्टहरूमा इरानले पुनः वार्ता सुरु गर्ने प्रयास गरेको भन्ने खबरलाई खण्डन गरेका हुन्।

इरानले इजराइल बाहेक कतार, बहराइन र संयुक्त अरब इमिरेट्समा पनि आक्रमण जारी राखेको छ। अर्कोतर्फ, लेबनानको उग्रवादी समूह हिजबुल्लाह ले पनि युद्धमा सक्रियता देखाउँदै इजरायलका विभिन्न स्थानमा बमबारी गरेको छ। हिजबुल्लाहले इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई को मृत्युको बदला लिने घोषणा गरेको छ।

अमेरिका र इजरायलले मिलेर अहिलेसम्म इरानका १ हजारभन्दा बढी स्थानमा हमला गरेका छन्। प्रारम्भिक ३० घण्टामा २ हजारभन्दा बढी बम खसालिएका छन्। यस क्रममा अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ७४० भन्दा बढी घाइते भएका छन्। एक विद्यालयमा मिसाइल खस्दा १८० छात्राको मृत्यु भएको र ४५ जना घाइते भएका छन्।

फेब्रुअरी २८ मा सुरु भएको युद्धको पहिलो दिनै इरानी सर्वोच्च नेता आयातुल्लाह अली खामेनेई मारिएका थिए। यसै क्रममा, आइतबार ३ जना अमेरिकी सैनिकको पनि मृत्यु भएको थियो । मध्यपूर्वमा जारी यस द्वन्द्वले क्षेत्रीय स्थिरता र विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने संकेत देखाइएको छ।