यूएई आक्रमणमा नेपाली नागरिक दिवंगत, गोर्खाका दिवस श्रेष्ठको निधन
Prime TV News २ दिन अगाडि 
काठमाडौ । इरानले गरेको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्स (यूएई)मा नेपाली नागरिकको निधन भएको छ। अबुधाबीस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृतक नेपाली गोर्खा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ भएको बताईएको छ ।
दूतावासका अनुसार, “अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत दिवंगत दिवस श्रेष्ठको दुःखद निधन भएको छ। यस सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ।”
नेपाली दूतावासले दिवंगत श्रेष्ठप्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ कि “परिस्थिति सहज भएपश्चात् स्व. श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजान र आवश्यक सम्पूर्ण प्रक्रिया सहज बनाउन दूतावास तत्पर रहेको जानकारी गराइन्छ।”
त्यसैगरी, दूतावासले यूएईमा रहेका सबै नेपाली नागरिकहरूलाई संयमता अपनाउन, सुरक्षित स्थानमा रहन र युएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ।













