इरान–इजरायल तनावबीच खाडी क्षेत्रमा सुरक्षा नाजुक, कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटना

User Image Prime TV News २ दिन अगाडि
Image of इरान–इजरायल तनावबीच खाडी क्षेत्रमा सुरक्षा नाजुक, कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटना

काठमाडौ । इरान र इजरायलबीच बढ्दो सैन्य तनावका कारण खाडी क्षेत्रमा सुरक्षा अवस्था अत्यन्तै नाजुक बनेको छ। शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि युद्धको बादल छाएको छ। इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्युले क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो प्रभाव पारेको छ।

सोमबार कुवेतमा धेरै अमेरिकी लडाकु विमानहरू जमिनमा खस्दा चालक दलका सदस्यहरू सुरक्षित रहेका छन्। कुवेतको रक्षा मन्त्रालयका अनुसार उनीहरूलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको छ। मन्त्रालयले भनेको छ, “हामी अमेरिकी सहयोगीहरूसँग घटनाको परिस्थिति र कारणबारे निरन्तर संवादमा छौँ। थप अनुसन्धान जारी छ।”

यसैबीच कुवेतस्थित अमेरिकी दूतावास परिसर वा नजिकै धुवाँ उठेको देखिएको छ। दूतावासले आफ्ना नागरिकहरूका लागि आकस्मिक सुरक्षा ‘अलर्ट’ जारी गर्दै सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ। आधिकारिक वेबसाइटमा चेतावनीमा भनिएको छ, “दूतावास नआउनुहोस्, घरको सबैभन्दा तल्लो तलामा बस्नुहोस्, झ्यालबाट टाढा रहनुहोस् र बाहिर ननिस्कनुहोस्।”

अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई सम्भावित थप आक्रमणको तयारी गर्न र सुरक्षा योजना बनाउन आग्रह गरेका छन्। दूतावासले आफ्ना कर्मचारीहरू सुरक्षित रहेको पनि पुष्टि गरेको छ।

विशेषज्ञहरूका अनुसार खामेनीको मृत्युपछि इरानले कडा प्रतिकार गर्न सक्ने भएकाले खाडी क्षेत्र अझ अस्थिर हुने अनुमान गरिएको छ। अमेरिकी–इजरायली आक्रमणपछि इरान समर्थित समूहहरूले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य प्रतिष्ठान र दूतावासहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिइएको छ।