मौन अवधि सुरु हुँदै, निर्वाचन आयोगको कडाइ
Prime TV News २ दिन अगाडि 
काठमाडौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यसैक्रममा आज मध्यरातदेखि चुनावी प्रचारप्रसार पूर्ण रूपमा बन्द हुने भएको छ।
निर्वाचन आयोगले मध्यरातपछि ‘मौन अवधि’ लागू हुने जानकारी दिँदै सबै राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिताको दफा १७ अनुसार मतदानको ४८ घण्टा अघिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म विशेष आचरण लागू हुन्छ।
यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भातृ संगठन तथा समर्थकहरूले कुनै पनि प्रकारको प्रचारप्रसार, सभा–सम्मेलन, छलफल वा सार्वजनिक कार्यक्रम गर्न पाउँदैनन्। आयोगका अनुसार मौन अवधिमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट मतदातालाई प्रभावित पार्ने गतिविधि पनि निषेध गरिएको छ। साथै, मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री मतदानको ४८ घण्टा अघिनै हटाउनुपर्ने व्यवस्था गरिएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन आयोगले सबै पक्षसँग सहयोगको अपिल गरेको छ। सुरक्षाकर्मी तथा अनुगमन टोलीलाई पनि सक्रिय रूपमा परिचालन गरिने जनाइएको छ।













