रियादस्थित अमेरिकी दूतावासमा ड्रोन प्रहार, खाडी क्षेत्रको सुरक्षा अवस्था थप जटिल
Prime TV News एक दिन अगाडि 
काठमाडौ । साउदी अरबको राजधानी रियाद मा रहेको अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ।
साउदी रक्षा मन्त्रालयका अनुसार दूतावास भवनमाथि दुईवटा ड्रोन प्रहार गरिएको हो। आक्रमणपछि विस्फोटको आवाज सुनिएको र आकाशमा कालो धुवाँ देखिएको जानकारी सार्वजनिक भएको छ।
दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जारी विज्ञप्तिमा आगलागी सामान्य रहेको र भवनमा सीमित क्षति पुगेको उल्लेख गरेको छ। घटनाको समयमा भवन खाली गरिएकाले मानवीय क्षति नभएको जनाइएको छ। समाचार संस्था रोयटर्स ले घटनापछि सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ।
साउदी अरबस्थित अमेरिकी मिशनले रियाद, जेद्दा र धहरानमा रहेका आफ्ना नागरिकलाई घरमै सुरक्षित रहन र अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ। सुरक्षा निकायले दूतावास वरपरको क्षेत्र घेराबन्दी गरी अनुसन्धान थालेको छ।
शनिबार इजरायल र अमेरिकाले इरान माथि गरेको आक्रमणपछि क्षेत्रीय तनाव चुलिएको छ। इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनी मारिएको दाबी सार्वजनिक भएसँगै खाडी क्षेत्रमा प्रतिआक्रमण र सुरक्षा खतरा बढेको विश्लेषण गरिएको छ।
यसअघि कुवेत स्थित अमेरिकी दूतावास आसपासबाट धुवाँ देखिएको थियो। खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखाडा र कूटनीतिक संरचनाहरू उच्च जोखिममा रहेको आकलन गरिएको छ।
यसैबीच, युएईको एक विमानस्थलमा भएको आक्रमणमा नेपाली सुरक्षा गार्ड दिवस श्रेष्ठको मृत्यु भएपछि त्यहाँ कार्यरत नेपाली समुदायमा त्रास बढेको छ ।












