आज साँझ खण्डग्रास चन्द्रग्रहण, काठमाडौँबाट करिब एक घण्टा स्पष्ट देखिने
Prime TV News एक दिन अगाडि 
काठमाडौ । आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।
साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामै देखिने खगोलविद्हरूले बताएका छन्। राजधानी काठमाडौँ सहित देशका विभिन्न भागबाट यो दृश्य अवलोकन गर्न सकिनेछ।
वाल्मीकि क्याम्पस का वरिष्ठ खगोलविद् जयन्त आचार्य का अनुसार, चन्द्रमा उदाउँदा नै आधाभन्दा बढी भाग पृथ्वीको कालो छायाँले ढाकिएको अवस्थामा देखिनु यो ग्रहणको विशेषता हो। क्षितिजबाट माथि उठ्दै जाँदा ग्रहणको दृश्य क्रमशः स्पष्ट हुँदै जाने र काठमाडौँबाट करिब एक घण्टासम्म अवलोकन गर्न सकिने उनले जानकारी दिए।
यो ग्रहण हेर्न कुनै विशेष चस्मा वा उपकरण आवश्यक पर्दैन। सूर्यग्रहणजस्तो आँखा बिग्रने खतरा नहुने भएकाले खुला आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिने खगोलविद्हरूले स्पष्ट पारेका छन्।
यसअघि भदौ २२ गते खग्रास (पूर्ण) चन्द्रग्रहण लागेको थियो, जुन काठमाडौँबाट साढे तीन घण्टासम्म देखिएको थियो। तर आजको ग्रहण खण्डग्रास प्रकृतिको हो, जसमा चन्द्रमाको केही भाग मात्रै पृथ्वीको छायाँले ढाकिन्छ।
खगोल विज्ञानका अनुसार सूर्यग्रहण औँसीमा र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ। जब सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा पर्छन्, तब यस्तो खगोलीय घटना देखिन्छ। पृथ्वीको छायाँमा चन्द्रमा परे चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा परे सूर्यग्रहण लाग्छ।
चन्द्रग्रहण संसारका धेरै भागबाट एकैपटक देख्न सकिन्छ, तर सूर्यग्रहण भने पृथ्वीको सीमित भूभागबाट मात्रै देखिन्छ। वैज्ञानिकहरूले चन्द्रग्रहण पूर्ण रूपमा हानिरहित हुने बताएका छन्, जबकि सूर्यग्रहण हेर्दा भने विशेष सावधानी आवश्यक पर्छ।












